चुलाचुली गाउँपालिकामा ३१ परिवारलाई लालपुर्जा वितरण

चुलाचुली गाउँपालिकामा ३१ परिवारलाई लालपुर्जा वितरण

इलाम– आफ्नो लालपुर्जा नहुँदा वर्षाैंदेखि भूमिसम्बन्धी समस्या झेल्दैआएका सर्वसाधारणलाई इलाममा जग्गाको लालपुर्जा वितरण गर्न थालिएको छ ।

जिल्लास्थित भूमि समस्या समाधान आयोगले आज (बुधबार) चुलाचुली गाउँपालिकामा ३१ परिवारलाई लालपुर्जा वितरण गरेको छ । विगतदेखि नै भूमि आयोगले गरेका अपुरो–अधुरो कार्यभित्र रहेका परिवारको लालपुर्जा तयार गरेर वितरण गरिएको जिल्लास्थित आयोग अध्यक्ष प्रकाश अधिकारीले बताए ।

चुलाचुलीमा ६ सय ३० परिवारको जग्गा अधुरो–अपुरोमा प्रमाणित गरिएको छ । बाँकीलाई पनि क्रमशः प्रक्रियामा लगेर लालपुर्जा वितरणको काम गरिने अध्यक्ष अधिकारीले जानकारी दिए ।

आयोगले जिल्लामा पहिलो पटक थालेको लालपुुर्जा वितरणको पहिलो चरणको कार्य रोङ गाउँपालिकामा पनि सम्पन्न भएको छ । रोङमा ७२ परिवारलाई लालपर्जा दिइएको छ । रोङमा अब ७८ परिवारको लालपुर्जाको तयारी रहेको र ती परिवारले राजस्व तिरेपछि पुनः वितरण गरिने जनाइएको छ ।

माई नगरपालिकामा १ सय ५२ परिवारका लागि आयोगले १५ दिनको सूचना निकालेर काम गरिरहेको छ । असार १० सम्ममा माईमा पनि लालपुर्जा वितरण गर्ने तयारी रहेको जनाइएको छ । माङसेबुङ गाउँपालिकामा १ सय १० परिवारको लालपुर्जाको तयारी हुँदैगरेको आयोगले जनाएको छ ।

‘आउँदो असार मसान्तसम्ममा कम्तीमा ५ सय परिवारलाई लालपुुर्जा उपलब्ध गराउने लक्ष्य छ,’ अध्यक्ष अधिकारीले भने, ‘माई नगरपालिकाको सुुखानी क्षेत्रमा भने १ सय १३ परिवारको काम थालिएको थियो । प्रमुख जिल्ला अधिकारीको सरुवाले गर्दा राजस्व निर्धारणको काम रोकिएको छ, अब नयाँ प्रजिअले काम थालिसकेपछि यहाँको काम अघि बढ्नेछ ।’

आयोगले अहिलेसम्ममा जिल्लाका ५ पालिकामा २ हजार ७ सय ७९ कित्ताको नक्सा, स्थलगत अध्ययन तथा प्रमाणीकरण गरेर काम गरिरहेको जनाइएको छ । अहिलेसम्म जिल्लामा १ सय १६ भूमिहीन दलित, ४ सय ९० भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीका १३ हजार ४ सय ८६ निवेदन दर्ता भएका छन् ।

यीमध्ये माई नगरपालिकामा २८ भूमिहीन दलित, ८८ भूमिहीन सुकुमबासी, ७ हजार ३ सय ६६ अव्यवस्थित बसोबासीको संख्या दर्ता भएको छ । माङसेबुङमा २४ भूमिहीन दलित, २ सय ३० भूमिहीन सुकुमबासी, २ हजार ३ सय ८ अव्यस्थित बसोबासीको संख्या दर्ता छ । रोङ गाउँपालिकामा ४ भूमिहीन दलित, ६५ भूमिहीन सुकुमबासी, १ हजार ७ सय ९१ अव्यवस्थित बसोबासी छन् । सूर्याेदय नगरपालिकामा ६० भूमिहीन दलित, १ सय ७ भूमिहीन सुकुमबासी, १ हजार ९ सय ६५ अव्यवस्थित बसोबासीको संख्या छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर