११ वैशाख, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाले काठमाडौँबाट धरानवासीलाई उद्धार गरी गृहनगरसम्म ल्याउन सुरु गरेको छ ।
विहीबार(आज) पहिलो चरणमा ४ जना बालबाालिका सहित ३८ जनालाई काठमाडौँबाट धरान ल्याईपुर्याएको उपमहानगरका उद्धार समिति संयोजक मनोज भट्टराईले जानकारी दिनुभयो । पहिलो चरणमा उद्धार गरिएकाहरू धरान ४, ५, १३, १७ र २० नम्बर वडाका रहेको बताईएको छ ।
उनीहरूलाई बस रिजर्भ गरेर धरान ल्याईपुर्याइएको हो । धरान उपमहानगरपालिका र धरान काठमाडौँ सरोकार समाजको सहकार्यमा काठमाडौँमा लकडाउनका बेला अलपत्र परेका धरानेहरुलाई ल्याउन थालिएको बताईएको हो । अझै पनि थप धरानबासी काठमाडौँमा रहेकोले उनीहरूको तथ्याङ्क सङ्कलन भइरहेको र तीन वटा गाडी तयारी अवस्थामा राखिएको बताइएको छ ।
पहिलो चरणमा धरान ल्याईपुर्याइएका सबैलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना हेल्प डेस्कमा स्वास्थ्य परीक्षण गराई ट्राभल हिस्ट्री हेरेर होम क्वारेन्टाइनमा पठाइएको संयोजक भट्टराईले जानकारी दिनुभयो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७