१० वैशाख, सुनसरी । जयबाबा ईटा उद्योग दुहवीका संचालक खगेन्द्र श्रेष्ठले दुहवी नगरपालिकाको राहत कोषमा आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । ईटा उद्योग संचालक श्रेष्ठले नगरको राहत कोषमा रु १ लाख ५१ हजार रुपैँया सहयोग गर्नुभएको हो ।
हाल विश्वमा महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को कारण जारी लकडाउनले गरीबी र न्युन आय भएका वर्गहरुलाई समस्या परेको हुनाले राहत कोषमा आर्थिक सहयोग गरेको संञ्चालक श्रेष्ठले बताउनुभयो । संचालक श्रेष्ठले आज नगर प्रमुख बेदनारायण गच्छदार चेक हस्तान्तरण गर्नुभएको हो ।
चेक हस्तान्तरण कार्यक्रममा दुहवी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छदार, नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत विनोद कुमार न्यौपाने, दुहवी न.पा वडा नं. ५ का अध्यक्ष रमेश रौनियार, ९ का अध्यक्ष मेहदी मिया, रेडियो नेपाल सुनसरीका संवादाता अशिष कुमार यादव, गुगल दैनिक दुहवीका संवादाता नविन कुमार रौनियार लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
साथै जयबाबा ईटा उद्योगले सुनसरीको इटहरी उप–महानगरपालिकालाई १ लाख ५ हजार रुपैँया सहयोग हस्तान्तरण गरिसकेको छ भने भोली सुनसरीको भोक्राहा नरसिंह गाउपालिका तथा गढी गाउपालिकालाई ५१ हजारका दरले आर्थिक सहयोग गर्न लागेको संचालक श्रेष्ठका बताउनुभयो ।
इटा व्यवसायी संघ १ नं. प्रदेशका अध्यक्ष समेत रहनुभएका श्रेष्ठले सुनसरी, मोरङ लगायत जिल्लाहरुका इटा भट्टहरुमा १६ हजार ७ सय ५० जना भारतीय कामदारहरु कार्यरत रहेकोमा बर्षायाम संगै भट्टाको सिजन समाप्त भइसकेकोले खाद्यान्नको व्यवस्था गर्न गाह्रो भएको हुँदा कामदारलाई घर फिर्तीकोलागि व्यवस्था सरकारले गरीदिनुपर्ने माग गर्नुभएको छ । लकडाउनका कारण उत्पादित इटाहरु बजारमा विक्री वितरण नहुँदा कामदारलाई खाद्यान्न जोहो गर्न समेत समस्या उत्पन्न भएको उहाँले बताउनुभयो ।