पवित्रहाङमा गोल्डकप: दार्जिलिङ पराजित, रोयल बन्यो सेमिफाइनल पुग्ने अन्तिम टोलि

पवित्रहाङमा गोल्डकप: दार्जिलिङ पराजित, रोयल बन्यो सेमिफाइनल पुग्ने अन्तिम टोलि

माङसेबुङ, माघ २८ । इलामको धार्मिक पर्यटकिय स्थल माङसेबुङमा सुरु भएको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो चरणको अन्तिम खेलमा रोयल स्पर्टिङ क्लब दमक विजयी भएको छ । दार्जिलिङ भारतको दिव्यशक्ति धोत्रेलाई ३-० गोल अन्तरले हराउदै सेमिफाइनल प्रवेश गरेको हो । यस सँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा सोमबार भएको खेलमा पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ३५औं मिनेटमा दमकले विपासा धिमालको गोलमा सुरुवाती अग्रता लिए ।

त्यसपछि थप दबाबमा परेको पाहुना टोली दार्जिलिङले ३७औं मिनेटमा फ्रिकिक्बाट अर्को गोल खान पुग्यो । मनिषाले चौधरीले गोल गर्दै अग्रता दोब्बर बनाइन । त्यस्तै खेलको ४२औं मिनेटमा कप्तान अम्बिका लावतीले गोल गर्दै दमकलाई ३–० को सहज जित दिलाइन ।

खेलको प्लेयर अफ द म्याच दमककी विपासा धिमाल घोषित भईन् । उनले नगद पाँच हजार ६९ रुपैयाँ हात पारिन् ।

प्रतियोगितामा नेपाल र भारतका ८ चर्चित फुटबल टिमहरु सहभागीता रहेको आयोजक समितिका सचिव सरिता राईले बताइन् ।
चिव राईका अनुसार प्रतियोगितामा नेपालको माङसेबुङ गाउँपालिका इलाम, रोयल स्पोर्टिङ क्लब दमक झापा, मिक्लाजुङ फुटबल क्लब पाँचथर, ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङ, पथरी शनिश्चरे खेलकुद समिति मोरङ, कन्काई नगरपालिका झापा, दिपेन्द्र सिखर स्पोर्ट्स क्लब इलाम र पाहुना टोलीका रुपमा भारतको दिव्यशक्ति धोत्रे, दर्जिलिङको सहभागीता रहेको छ ।

प्रतियोगिताका विजेताले नगद तीन लाख एक सय ६९ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद दुई लाख एक सय ६९ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर