८ बैशाख, झापा । यो बर्ष झापामा युरिया मलको अभाव देखिएको छ । मल सहज रुपमा उपलब्ध नहुदा नसक्दा चैते धान र मकैको उत्पादनमा कमि आउन सक्ने भन्दै किसानहरु चिन्तित बनेका छन् ।
चैत्र पहिलो साता सम्ममा रोपिएको उन्नत जातको मकै र चैते धानमा यतिबेला युरिया मल लगाउनु पर्ने बेला हो । तर मल नै नपाएको किसानहरु गुनासो छ ।
कम्पनीले मल पर्याप्त मात्रामा उपलब्ध नगराउदाँ पछिल्ला दिनमा मलको अभाव देखिएको दक्षिणी गौरीगञ्ज गाउँपालिका वडा नं. १ स्थित साना किसान कृषि सहकारी संस्था महाभाराका अध्यक्ष तिलक राजबंशीले बताउनुभयो । जारी लकडाउनका कारण झनै मल ढुवानी ठप्प हुदाँ मलको अभाव चुलिएको उहाँले वताउनुभयो ।
जिल्लाको ग्रामीण क्षेत्रमा आफूहरुले बर्षेनी रासायनिक मलको अभाव झेल्दै आएको गुनासो किसानहरुको छ । राजवंशीका अनुसार धान र मकै रोप्ने समयमा यसअघि कृषि सामाग्रीबाट प्राप्त मल बितरण गरिएको थियो । बाली लगाएको २२ दिनपछि एक महिना भित्रैमा युरिया मल हाल्नु पर्नेमा अहिलेसम्म मागको १० प्रतिशत पनि युरिया प्राप्त गर्न नसक्दा संस्थामा आवद्ध किसानको माग पूरा गर्न नसकिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार पछिल्लो समय करिब ५०० बोरा अर्थात २५ हजार केजी युरिया मल माग भएकोमा तिन दिन अघि ५० बोरा मात्रै मल उपलब्ध भएको छ ।
समयमा पर्याप्त मलको उपलब्धता नहुदाँ उत्पादनमा कमी आउने सम्भावना एकातिर छ भने अर्कातिर निरन्तरको लक डाउनका कारण उत्पादन बिक्री गर्न नपाइने हो कि भन्ने चिन्ताले सताउन थालेको किसानको पिरलो छ ।
मल अभावसंगै किसानले उत्पादन गरेको कृषि उपजको विक्री समस्या उतिकै भएको गुनासो महाभाराका अगुवा किसान धनपति पौडेलले गर्नुभयो । चाहिएको बेला मल पाईदैन् कसरी खेती गर्ने भन्ने पिरलो हुने गरेको उहाँको भनाई छ ।