आयरल्यान्ड ए माथि नेपालको रोमाञ्चक जित

आयरल्यान्ड ए माथि नेपालको रोमाञ्चक जित

१९ चैत, काठमाडौं । नेपाल ए ले तेस्रो टी–२० खेलमा आयरल्यान्ड ए माथि ३ रनको रोमान्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २,१ ले गुमाएको छ ।

२१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्याण्डका ग्यारेथ डेलानी ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन बनाए । मोर्गन टोपिङ ३७ बलमा ४ चौका र ४ छक्कासहित ६० रनमा पवन सरार्फबाट लङअनमा क्याच आउट भए ।

एक समय ७.१ ओभरमा ५२(४ को अवस्थामा पुगेको आयरल्यान्डलाई चौथो विकेटका लागि मोर्गन र ग्यारेथ डेलानीले १२९ रनको सानदार शतकीय साझेदारी गर्दै जितको आशा कायम राखेका थिए । आयरल्यान्ड ए लाई ओपनर रस आडैरले १४ बलमा ५ चौका र १ छक्कासहित ३१ र तथा फिन ह्यान्ड २२ रनमा आउट भए । अन्तिम ओभरमा २० रन चाहिँदा राशिद खानले १६ रन खर्चेर १ विकेट लिँदै नेपाललाई रोमान्चक जित दिलाए ।

नेपालको जितमा विपिन खत्रीले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । नारायण जोशी, कमलसिंह ऐरी र राशिद खानले १,१ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो ।
नेपालको जितमा आरिफ शेख ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनको अविजित इनिङ खेलेका थिए । तीव्र गतिका बलर कमलसिंह ऐरीले अन्त्यमा ७ बलमा २ चौका र १ छक्कासहित महत्वपूर्ण १९ रन जोडेका थिए ।

नेपालले ओपनर लोकेश बमलाई ८, देव खनाललाई ६ र विनोद भण्डारीलाई ११ रनमा गुमाएको थियो । चौथो विकेटका लागि बसिर अहमद र आरिफ शेखले ४७ रनको साझेदारी गरेका थिए । बसिर २१ बलमा ३ चौकासहित १९ रनमा एलबीडब्लू आउट भए ।

पवन सरार्फ १३ र नारायण जोशी १ रनमा आउट भए । राशिद खानले १३ बलमा ३ छक्कासहित महत्वपूर्ण २४ रन जोडेका थिए ।

आयरल्यान्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १(१ विकेट लिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर