व्यावसायिक कफी खेती गर्दै माङसेबुङका याम कार्की

व्यावसायिक कफी खेती गर्दै माङसेबुङका याम कार्की


५ चैत, इलाम । प्राय सबैजसोको उद्देश्य पढेपछि जागिर खाने, राम्रो घर बनाउने र सुखसयलमा जिन्दगी बिताउने हुन्छ । अलि पढेपछि काम गर्न लाज मान्ने नेपाली समाजको विशेषता नै हो । तर, इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका याम कार्की पढेर पनि जागिर खाएनन्, न त उनले काम गर्न नै लजाए । बरु पढेर पनि जागिर नै खान पर्दैन, कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ भन्ने प्रेरणाका श्रोत बनेका छन् ।

उनी विहानदेखि बेलुकासम्म नै कृषि काममा व्यस्त देखिन्छन् । उनले ६० रोपनी क्षेत्रमा कफीको विरुवा लगाएका छन् । विगत छ वर्षदेखि व्यावसायिक कफी खेती सुरु गरेका कार्कीले सबै जग्गामा कफी खेती विस्तार गरेका छन् । उनको बगानमा अहिले छ हजार कफीका बोट छन् । कफीका अधिकाशं बोटले आम्दानी दिन थालेको छ । उनले कफी खेतीबाट वार्षिक लाखौं आम्दानी गर्दै आएका छन् । कफीको चेरी र विरुवा बिक्रीबाट छुट्टाछुट्टै रुपमा आम्दानी लिदैँ आएको उनको भनाइ छ ।

२०७४ सालदेखि ‘इलाम एग्रो फार्म’ दर्ता गरी उहाँले व्यावसायिक कफी खेती गर्दै आएका छन् । ‘विगत छ वर्षदेखि मैले आफ्नै नीजि जग्गामा व्यावसायिक कफी खेती गर्दै आएको छु, अहिले अधिकाशं बोटले आम्दानी समेत दिन थालिसकेको छ’ कार्कीले भचे ‘फ्रेस चेरी (कफीको दाना) ए ग्रेड प्रतिकिलो एक सय ५ सम्ममा बिक्ने गरेको छ, सरदरमा वार्षिक सात लाखसम्म आम्दानी भइरहेको छ ।’

‘अरविका’ नामक कफी खेती विस्तार गर्नभएका कार्कीले विरुवाबाट समेत मनग्य आम्दानी गरिरहेका छन् । उनले सिजनमा विरुवा बिक्रीबाट रु छ लाखसम्म आम्दानी हुने गरेको सुनाए । ‘मेरो नर्सरीमा वर्षमा १५ देखि २० हजार विरुवा उत्पादन हुन्छ, प्रतिविरुवा ३० का दरले नर्सरीबाटै बिक्री हुन्छ’ उनले भने, ‘विरुवाबाट मात्र करिब छ लाख हात पार्ने गरेको छु ।’ विरुवा विभिन्न पालिका, वडा कार्यालय, फार्म र किसानहरुले खरिद गरी लैजाने गरेको उनले बताए ।

कफी खेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ किसानको मोह बढेको स्थानीय कार्कीले बताए । ‘वनजङ्गलको आडैमा प्रशस्त खाली जमिनमा लगाइएका कफीका विरुवाहरुले हरभरा देखिन थालेका छन्,’ उनले भने, ‘यसलाई हामी सामुदायिक अवधारणामा विभिन्न संघसंस्था र वडा कार्यालयसँग समन्वय गरी गाउँपालिकाभरी विस्तार गर्ने योजना छ ।’ कफीको मूल्य राम्रो पाइने र बिक्रीका लागि समस्या पनि नभएकाले किसानले अन्य पेसा छाडेर कफी खेतीतर्फ लागेको उनले बताए । उनले कफीसँगै व्यावसायिक रुपमा बाख्रापालन समेत गदै आएका छन् । कफी खेतीका लागि चाहिने मल बाख्रापालनबाट नै उपलब्ध हुने भएकाले दुवै व्यवसाय सँगसँगै लगेको उनको भनाई छ ।

माङसेबुङ गाउँपालिका–२ इभाङका किसान गणेश लिम्बूले पनि राम्रै अन्नबाली उत्पादन हुने जग्गामा व्यावसायिक कफी खेती विस्तार गरेका छन् । उनले २५ रोपनी जग्गामा दुई हजार पाँच सय बोट कफी खेती लगाएका छन् । लगानी धेरै नपर्ने र मेहनत पनि खासै नपर्ने भएकाले चार वर्षदेखि व्यावसायिक कफी खेती सुरु गरेको उनले बताए ।

‘चार वर्षदेखि कफी खेती सुरु गरेको मेरो बगानमा अहिले दुई हजार पाँच सय बोट पुगेको छ, यसलाई अझ विस्तार गरी १० हजार पुर्‍याउने लक्ष्य छ,’ उनले भने, ‘पहिलो लटको विरुवाले उत्पादन सुरु गरेको छ, यो वर्ष चार क्विन्टल उत्पादन भयो, आउँदो सालदेखि आम्दानी राम्रै हुने आशा बढेको छ ।’ केटाकेटीले समेत काम गर्न सक्ने तथा दक्ष कामदार नचाहिने भएकाले अन्य खेतीभन्दा कफी खेती गर्न सहज हुने उनको अनुभव छ ।

माङसेबुङ गाउँपालिका–१ तोभाङका छत्र कार्कीले चार वर्षदेखि कफी खेती गर्दै अएका छन् । व्यावसायिक रुपमा आफ्नै पाखा पखेरामा करिब पाँच सय कफीका विरुवा लगएका उनले राम्रो आम्दानी गरेको बताउँछन् । ‘मलजल र स्याहारसुसार पुग्यो भने रोपेको २ वर्षदेखि नै आम्दानी दिन थाल्दो रहेछ, यो वर्ष आम्दानी ७० हजारजति आम्दनी भयो,’ उनले भने, ‘यो सालदेखि अझ विस्तार गर्ने योजनामा छु ।’

माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका पृथीमान जवेगूले पनि पाँच सय कफीका विरुवा रोपेर व्यावसायिक कफी खेती सुरु गरेका छन् । पहाडी क्षेत्रको चिसो ठाउँमा कफी लगाउन सकिने र कफीबाट किसानले मनग्ये आम्दानी समेत लिन सफल भएपछि आगामी वर्ष आफूले कफी खेती विस्तार गर्ने योजना रहेको उनको भनाई छ ।

माङसेबुङ गाउँपालिका वडा नं. १ का गजुरमुखी, नाङरुङ, तोभाङ र वडा नं. २ का इभाङ, डाँडागाउँ, काब्राबोटे गाउँका तीन सय ५० जना किसानले व्यावसायिक रुपमा कफी खेती गर्दै आएका छन् । पहाडी भेगका गाउँमा कफी खेती किसानहरु बढ्दै गएको छ । उनीहरुले खेतबारीमा अन्नबाली लगाउन छाडेर कफी रोपेका छन् । सामान्य कफी खेतीबाट सुरु गरेका किसानले अहिले व्यावसायिक रुपमा कफी खेती सुरु गर्न थालेका छन् । उत्पादन समेत राम्रो हुँदै गएकाले किसानहरु कफी खेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएका हुन् । माङेबुङ गाउँपालिकाभर छ हजार क्षेत्रमा ६० हजार कफीको विरुवा रोपिएको छ ।

कम मेहनत र थोरै लगानीमा नै मनग्य आम्दानी हुन थालेपछि त्यस किसानहरु व्यावसायिक कफी खेतीमा आकर्षित भएका हुन् । खेतबारीमा अन्नबाली लगाउने जनशक्ति अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले अधिकाशं किसानले व्यावसायिक कफी खेती सुरु गरेका छन् । बाँझो रहेका पाखा पखेरामा समेत हुने भएपछि किसानहरुले व्यावसायिक रुपमा कफी खेती सुरु गरेका हुन् । उनीहरुले व्यावसायिक रुपमा कफी खेती गरी लाखौं आम्दानी लिईरहेका छन् । उनीहरुले खेतीयोग्य जमिन मासेर समेत व्यवसायिक कफी खेती गर्दै आएका हुन् । यहाँका किसानले ‘अरविका’ जातका कफी खेती गर्दै आएका छन् ।

किसानलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन । घरैबाट सहजै रुपमा बिक्री गर्न पाउँछन् । घरघरमा गएर व्यापारीले कफी किन्ने गरेका छन् । बगानकै मोलतोल गरेर व्यपारीले किन्ने गरेकाले किसानलाई उत्पादन बजारसम्म पुर्‍याउने झन्झट समेत छैन । स्थानीय स्तरमा नै कफी प्रशोधन उद्योग स्थापना भएपछि किसानले कफीको मुल्य समेत राम्रै पाएका छन् । त्यस क्षेत्रका किसानहरुले उत्पादन गरेको कफी व्यापारीमार्फत काठमाडौंमा जाने गरेको छ ।

कफी प्रशोधन उद्योगले बजारीकरणमा सहज

गाउँमा व्यावसायिक कफी खेती विस्तार भएसँगै माङसेबुङ गाउँपालिका–१ का किसान याम कार्कीले गाउँमा नै कफी प्रशोधन उद्योग स्थापना गरेका छन् । उनले ‘इलाम एग्रो फार्म’ मार्फत उद्योग स्थापना गरेपछि किसानलाई समेत सहज भएको छ । उत्पादित कफीको बजारीकरण समेत उद्योगले नै गर्ने भएपछि किसानले बजारीकरको समस्या भोग्नु परेको छैन । स्थानीय स्तरमा नै प्रशोधन भएर बजारीकरण हुने भएकाले किसानले कफीको मुल्य समेत राम्रो पाएका छन् ।

बजारीकरणका लागि अन्तरराष्ट्रिय सञ्जालमा जोडिएकाले किसानको घरघरमा आउने र बजारीकरणको सुनिश्चित रहेको कार्कीले बतए । ‘कफीको विरुवाका लागि आफैं नर्सरी गरेर बिक्रीवितरण गर्ने गरेको छु, उत्पादित दाना सङ्कलन गरेर बजारीकरणमा समेत सहयोग गर्ने गरेको छु’ कार्कीले भने, ‘किसानले उत्पादन गरेको कफी नबिक्ने चिन्ता छैन, काठमाडौं र पोखरालगायत ठूला सहरबाट माग आउने गरेको छ, अहिले माग पनि पुर्‍याउन सकिएको छैन, जति उत्पादन भएपनि हामी उठाउँछौं ।’ किसानलाई अनलाइनमार्फत नै भुक्तानीको समेत व्यवस्था गरिएकाले थप सहज भएको उनको भनाई छ ।

उनको फार्ममा दुई जना स्थायी र छ जना सिजनेबल कामदारले रोजगारी समेत पाएका छन् । आफू र आफ्नो परिवारका सदस्य बाहेक आठ जना कामदारलाई रोजगारी दिएको उनले बताए । ‘फार्ममा हामी आफैं पनि खट्ने गरेका छौं, त्यसबाहेक दुई जना स्यायी र छ जनालाई सिजनेबल कामदारका रुपमा रोजगारी दिएको छु’ उनले भने, ‘आफू स्वरोजगार भई अरुलाई समेत रोजगारी दिन पाउँदा खुसी लागेको छ ।’ उनले बेरोजगार युवाहरु विदेशिने क्रम रोक्न र गाउँघरमा नै बसेर भएपनि स्वरोजगार बन्न कृषि व्यवसाय प्रवद्र्ध गर्ने लक्ष्यका साथ कृषि व्यवसायमा लागेको उनको भनाई छ ।

जिल्लाका अधिकाशं क्षेत्रमा ‘अरविका’ जातको कफी लगाउने गरिएको छ । कफीको पाकेको दाना (चेरी) किसानबाट प्रतिकिलो रु एक सय पाँचसम्म, प्रशोधन गरिएको (पार्चमेन) प्रतिकिलो रु पाँच सयदेखि रु छ सयसम्ममा करोबार हुने गरेको छ । पूर्ण प्रशोधन वा धुलो बनाउन बाँकी रहेको कफी प्रतिकिलो रु एक हजार आठ सयका दरले बिक्री हुने गरेको छ । धुलो बनाउँदा प्रतिकिलो रु दुई हजार दुई सय ५० का दरले कफी बिक्री हुने गरेको छ ।

कफी खेतीमा गाँपालिकाको अनुदान

व्यावसायिक कफी खेती गर्ने किसानलाई प्रवद्र्धन गर्न माङसेबुङ गाउँपालिकाले अनुदान दिन थालेको छ । गाउँपालिकाले अनुदान दिन थालेपछि समेत व्यावसायिक कफी खेती विस्तारमा किसानहरु आकर्षित भएका छन् । कफी उत्पादनमा वृद्धि गराउने उद्देश्यले माङसेबुङले कफी खेती किसानलाई सोझै अनुदान रकम दिन थालेको हो । माङसेबुङ गाउँपालिकाले ५० किलो वा सो भन्दा धेरै कफीको पाकेको दाना (चेरी) उत्पादन गरेका किसानलाई प्रतिकिलो रु २० का दरले अनुदान उपलब्ध गराउँदै आएको छ ।

किसानले जति धेरै उत्पादन गर्छ, त्यति नै धेरै प्रोत्साहन अनुदान पाउने व्यवस्था गरिएको माङेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । माङसेबुङ गाउँपालिकाले गतवर्ष कफीमा ३४ जना किसानले रु एक लाख १६ हजार आठ सय ९० प्रोत्साहन बापत अनुदान पाएको गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270