पहिचानवादीद्धारा मेची राजमार्ग बन्दको घोषणाः बुलेटको रिहाई र पाथिभरामा केबलकार बनाउने निर्णयको विरोध

पहिचानवादीद्धारा मेची राजमार्ग बन्दको घोषणाः बुलेटको रिहाई र पाथिभरामा केबलकार बनाउने निर्णयको विरोध

१६ पौष, इलाम । कोशी प्रदेश नामाङ्कनविरुद्ध लामो समयदेखि आन्दोलनरत पहिचानवादी समूहले मेची राजमार्ग बन्दको घोषणा गरेको छ । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले बुलेट किराती भनिने अन्जेश राईको रिहाईको माग गर्दै पुस १८ र १९ गते राजमार्ग बन्दको आह्वान गरेको हो ।

समितिले मंसिर ३० र पुस १ गते आह्वान गरेको आन्दोलनको क्रममा इलामको रोङ गाउँपालिका–४, किटनीस्थित पराल बोकेको गाडीमा आगजनी गरिएको थियो । आगजनी गरेको आरोपमा पक्राउ परेका राई इलामको पशुपतिनगर थानाको हिरासतमा छन् ।

तर समितिले भने उक्त आगजनीको घटनामा राई र आन्दोलनमा संलग्न अन्य पहिचानवादीको कुनै संलग्नता नभएको दाबी गरेको छ । समितिले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हामीले आन्दोलनलाई शान्तिपूर्ण तरिकाले अघि बढाइरहेको अवस्थामा मंसिर ३० र पुस १ को यातायात बन्दमा झापाको मान्छे इलाममा गएर गाडी आगजनी गर्ने कुरा सोच्नसम्म पनि सकिँदैन् । त्यसैले बुलेट किराती अन्जेश राई निर्दोष छन् र उहाँलाई तत्काल रिहाई गरियोस् भनेर हामीले पटकपटक प्रशासनसमक्ष डेलिगेशन गई भनेका थियौं ।’

त्यस्तै, समितिले मुक्कुम्लुङ (पाथिभरा)मा केबलकार बनाउन निजी कम्पनीलाई अनुमति दिने सरकारको निर्णयको विरोध जनाएको छ । याक्थुङ लिम्बुहरुको पवित्र धार्मिक एवं आध्यात्मिक आस्थाको स्थल मुक्कुम्लुङमा केबलकार बनाउने निर्णय तत्काल फिर्ता लिन समितिले माग गरेको छ ।

त्यहाँ केबलकार निर्माण गर्न खोजेमा भिडन्तको स्थिति हुने र हिंसा भड्किन सक्ने उसको चेतावनी छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर