इलाममा चासोक तङनामः १५ गते राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम

इलाममा चासोक तङनामः १५ गते राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम


११ पुष, इलाम । किराँतहरूको महान् पर्व चासोक तङनाम अर्थात् ‘न्वागी पूजा’ इलामका विभिन्न स्थानमा धूमधाम साथ मनाइँदै छ । राई, लिम्बु, सुनुवार र याक्खा जातिले मङ्सिर पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना दिवङ्गत पुर्खा र आ-आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्दे मनाइने चलन छ । प्रत्येक वर्ष मङ्सिर पूणर्िमाको दिन मनाइने यो चाडलाई हिन्दुले धान्य पूर्णिमा, किराँत याक्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्बुले चासोक र राईले उँधौली पर्वका रूपमा मनाउने गर्छन् ।
यस अवसरमा जिल्लाका विभिन्न स्थानमा खेलकुद प्रतियोगिता समेत सञ्चालन भइरहेका छन् । इलाम नगरपालिका पाँचको बिब्ल्याटेमा हेलिबोथ फुटबल क्लबले महिला र पुरुष दुवै प्रतियोगिता सञ्चालन भएका छन् । सन्दकपुर गाउँपालिकाको टोड्केमा पनि फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ । चासोक तङनामको अवसर पारेर हेलिबोथ फुटबल क्लबले राष्ट्रिय कलाकारका साथ सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको छ ।
१५ गते हुने सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकार सहित ज्योति मगर समेत उपस्थित हुने हेलिबोथ फुटबल क्लबका अध्यक्ष पूर्ण लिम्बुले बताए । इलामको फाकफोकथुम गाउँपालिकाको एकतप्पा, आमचोक, फुएतप्पा लगायतका ठाउँमा पनि विभिन्न कार्यक्रम साथ चासोक तङनाम मनाइने वडा नं. तीनका अध्यक्ष दीपेन्द्र लिम्बुले बताए ।

इलामको माङसेबुङमा बृहत् साकेला सिली प्रदर्शन गरिएको छ। उधौलीसँगै किराँतीहरूको नयाँ वर्ष यलेदोङ ५०८३ को अवसरमा माङसेबुङ-६ स्थित हस्टेमा किराँत राईहरूको सांस्कृतिक नृत्य साकेला सिलीको प्रदर्शन गरिएको हो । किराँत राई यायोक्खा पारुहाङ टोल इकाइ समितिको आयोजनामा भएको उक्त कार्यक्रममा माङसेबुङ, चुलाचुलीसँगै पाँचथरको मिक्लाजुङसहित १४ साकेला टोलीले साकेला सिली प्रदर्शन गरेका थिए ।

के हो चासोक तङनाम ?
लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।
लिम्बू जातिको मुन्धुममा उल्लेख भएअनुसार कृषि युग सुरु हुनु सावा येत्हाङले कन्दमूल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरू कुपोषण र अनेक रोगव्याधीको सिकार हुन्थे । यी समस्या समाधानको विकल्प खोजीमा सर्वशक्तिमान् तागेरा निङवाभु माङसँग प्रार्थना गर्दथे । यही प्रार्थनाले गर्दा नै उनीहरूले पेनारमाङद (कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री (जुनेलो) आदि बीउ बिजन तागेरानिवाभु माङले उपलब्ध गराइदिए ।
यसरी धान र अन्नका बीउ बिजन पाएपछि लिम्बू जातिको आदिम पुर्खा सावायेहाङका चेली सिबेरा एक्थुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर बीउ बिजन रोपी छरी अन्न फलाइन् । यसरी छर पोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरु (देवीदेवता)लाई चढाउने प्रचलन बसाले, यसैलाई चासोक (न्वागी) पूजा भनियो ।
मानिसलाई खेतीपाती सिकाउने देवीका रूपमा येत्हाङका चेला सिबेरा एक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भनी लिम्बू समुदायले मान्दछन् । यी नै कथन अनुसार माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको पाइन्छ । आफूले लगाएको बालीनाली पाकेपछि माङहरुलाई चढाएपछि खाने र रमाउने चाडको रूपमा लिइएको पाइन्छ । आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाई खाएमा बौलाउने, रगत छदाउने, कुञ्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने (अन्धो बनाउने), कान दुखाउने (बहिरा बनाउने) जस्ता भयावह रोग व्याधिले दुःख पाइन्ने विश्वास रहिआएको छ ।
यही समयमा हिमाली भागमा हिउँ पर्ने भएकाले उच्च पहाडी भाग तथा हिमाली भेगको खर्कतिर लगिएको गाई गोठ पनि तल बस्तीतिर झारिने गरिन्छ, जसलाई उँधौली झारिएको भन्ने गरिन्छ । यिनै गाई गोठलाई हिउँद भरी खेतबारीमा मलजल गराई पुनः वैशाख महिनामा उकालो लगिइन्छ, जसलाई उभौली भन्ने गरिन्छ ।
जुन समयमा खेतबारीमा अन्न लगाउने समय भएको हुन्छ । प्राकृतिक पूजक लिम्बूहरूले यो समयमा पनि आफूले लगाएको अन्नबाली सप्रियोस् भनी देवीदेवतासँग प्रार्थना गर्ने गर्छ । जसलाई यक्वा पूजा (उभौली पूजा) भन्ने गरिन्छ । र यिनै देवीदेवताको आर्सीवादले फलाएको उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गरिन्छ ।
हरेक वर्ष मङ्सिर पूणर्िमाका दिनबाट सुरु हुने चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उँधौली सुरु भएको छ । चासोक तङ्नामलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानी ‘तागेरा निङ्वा युमालाई’ चढाएर पूजा अर्चना गरी खाने चलन छ । यो पर्व प्रत्येक वर्ष संसार भरी छरिएर रहेका भूमि पुत्र भेला भएर विशेष पूजा अर्चना गरी मनाउने गरेका छन् ।
बिशेषत यो पर्व किराँतहरूको बाहुल्यता रहेका ताप्लेजुङ, पाँचथर, इलाम धनकुटा, तेह्रथुम, संखुवसभा, झापा, मोरङ र सुनसरी तथा उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँमा भव्यताका साथ मनाउने गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर