११ पौष, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो नेतृत्वको पार्टीको हैसियत र भूमिका छ भन्ने कुरालाई नबिर्सन अन्य दलहरूलाई चेतावनी दिएका छन् ।
आज सुरु भएको नेकपा एसको सातौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको राजनीतिको कोर्स चेन्ज गर्ने भूमिका खेलेको र आज मात्रै बसेको समाजवादी मोर्चाको बैठकमा समेत एकीकृत समाजवादीबारे चर्चा भएको बताएका हुन् ।
उनले सबै कुरासँग सहमत हुन नसक्ने भन्दै उनले अहिले पनि आफूहरू नेपाली विशेषताको समाजवाद के हुनसक्छ भनेर गम्भीर चिन्तन मनन गरिरहेको बताए । ‘पार्टीभित्र पनि गरिरहेका छौ र आजै समाजवादी मोर्चाको बैठकमा पनि प्रस्ताव राखेका छौँ । नेपाली विशेषताको समाजवाद के हुनसक्छ ? यसका निम्ति एउटा गोष्ठी सेमिनार राखौँ, अन्तर्राष्ट्रिय अनुभवहरू पनि हेरौँ’, नेता नेपालको भनाइ छ । उनले मोर्चाको बैठकमा जनताले चाहे अनुसारको परिणाम सरकारले दिन सकेको छैन भनेर समेत प्रश्न गरेको बताए । त्यसको जवाफमा प्रधानमन्त्रीले समेत ठिक छ भनेको र आफू नयाँ ढङ्गले जान खोजेको बताएको नेपालले बताए ।
त्यस क्रममा उनले नेपालको राजनीतिमा प्रतिगामीहरूले टाउको उठाउन थालेको भन्दै दक्षिणपन्थीहरू सलबलाउन थालेकोप्रति मोर्चाको बैठकमा छलफल सुरु भएको बताए ।
‘उनले जनतामा निराशा बढेको र राजनीतिमा वितृष्णा र पार्टीहरूप्रति असन्तोषको कारण खोजी गर्दै सुधार गर्नुपर्ने बताए ।
नेपालले संविधान र राष्ट्रियताको मुद्दामा प्रगतिशील शक्तिलाई एकताबद्ध गर्नु आवश्यक रहेको पनि बताए ।