मंसिर २४, इलाम । इलामको माङसेबुङ गाउँपालिकाले पिएचडी (विद्यावारिधी) पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । गाउँसभाको निर्णय बमोजिम पिएचडी गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए ।
माङसेबुङले कानुन नै बनाएर छात्रवृत्ति दिन लागेको हो । ‘माङसेबुङ गाउँपालिकाको छात्रवृत्ति सम्बन्धी ऐन, २०८०’ बमोजिम छात्रवृत्ति दिन लागेको अध्यक्ष राईले बताए । त्यसका लागि गाउँपालिकाले सूचना नै प्रकाशन गरी आवेदन आह्वान गरेको छ ।
आफ्नो पालिकाबासी नागरिकलाई पिएचडी गर्न उत्प्रेरणा दिने उद्देश्यले गाउँसभाबाट पारित गरेर छात्रवृत्ति दिन लागेको अध्यक्ष राईले बताए । दुई जनाको आवेदन प्राप्त भएको जानकारी पाएको र त्यसलाई बैठक बसेर कागजात पुगरनपुग हेरेर निर्णय गर्ने अध्यक्ष राइले बताए ।
माङसेबुङले छात्रवत्तिका लागि यस वर्ष पाँच लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाको छात्रवृत्ति लिनका लागि गाउँपालिका भित्रकै स्थायी बासिन्दा र नेपालकै कुनै विश्वविद्यालबाट पिएचडी गर्नुपर्नेछ ।
छात्रवृत्ति सम्बन्धी ऐनको परिच्छेद ४ दफा ७ मा ‘विद्यावारिधी अध्ययन छात्रवृत्ति सम्बन्धी व्यवस्थामा नेपालका कुनैपनि विश्वविद्यालयबाट विद्यावारिधी गरिरहेका सोधकर्ताहरुलाई विद्यावारिधी अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराईने’ उल्लेख छ ।