१० मंसिर, काठमाण्डौँ । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति बनेको छ । उक्त निर्देशक समितिको पहिलो बैठक आज बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री डा. महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिएका हुन् ।
लगानी सम्मेलन आयोजना गर्नका लागि मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति बनेको छ । तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने जनाइएको छ ।
लगानी सम्मेलनका लागि आवश्यक कानुनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिने लगायतका काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने बताईएको छ । लगानी सम्मेलनका लागि कुन आयोजना ‘सोकेस’मा लैजाने भन्नेबारे तयारी गर्न पनि अर्थमन्त्री डा. महतले निर्देशन दिएका छन् ।