यूएईलाई हराउँदै नेपाल ‘टी—२० विश्वकप क्रिकेट’मा छनोट

यूएईलाई हराउँदै नेपाल ‘टी—२० विश्वकप क्रिकेट’मा छनोट


१६ कार्तिक, काठमाण्डौँ । नेपाल टी—२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको हो ।

जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ । ओमान भने शुक्रबार नै खेलिएको सेमीफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको हो । जारी छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोलीले आगामी टी—२० विश्वकप खेल्न पाउने प्रावधान छ । टी—२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

जुन ४ देखि ३० सम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी—२० विश्वकपमा सहभागी हुने अब दुई टोलीको टुंगो लाग्न बाँकी छ । उक्त विश्वकपमा २० टोलीको सहभागिता रहने छ । हालसम्म १८ टोली छनोट भइसकेका छन् । अब अफ्रिकी क्षेत्रबाट दुई राष्ट्र छानिने छन् ।

नेपालले दोस्रो पटक टी—२० विश्वकप खेल्ने अवसर पाएको हो । यसअघि नेपालले सन् २०१४ मा टी—२० विश्वकप खेलेको थियो । नेपाली टोली बंगलादेशमा आयोजित त्यो विश्वकपको प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।

सेमिफाइनल खेलमा टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको यूएईले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १७.१ ओभरमा दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर