१४ कार्तिक, विराटनगर । कोशी प्रदेशमा दुधको उत्पादन बढ्दो छ । खपत सोही अनुपातमा भएको छैन । मिल्क होली–डेले दुध उत्पादक किसानसँगै डेरी उद्योगहरू समस्यामा छन् । स्टक रहेको पाउडर दुध र घिउको खपत दसैँको सन्दर्भमा केही बढे पनि त्यो पर्याप्त हुन सकेन । यही समस्या भइरहेको बेला डेढ महिना अगाडि कोशी प्रदेशका दुग्ध पदार्थ उत्पादक उद्योगी व्यवसायीले गरेको पहलले केही आशाको सञ्चार गराएको छ ।
यहाँका उद्योगी व्यवसायीको टोली बंगलादेशमा दुग्धजन्य वस्तु निर्यातको सम्भावना बुझ्न त्यसतर्फ गएको थियो । उक्त टोलीका एक सदस्यका अनुसार केही दिन अगाडि बंगलादेशका व्यवसायीको टोली कोशी प्रदेश आएर यहाँका उद्योग तथा दुग्धजन्य वस्तुको अवस्थाबारे बुझेर फर्किएको छ ।
कार्तिक ४ गते बंगलादेशी व्यवसायीको एक टोलीले विराटनगरको सूर्याेदय मिल्क एण्ड बेभरेज उद्योगको अनुगमन गरेको छ । यस्तै उक्त टोलीले यहाँ उत्पादित पाउडर दुध र घिउको नमुना लिएर गएको छ ।
सूर्याेदय मिल्क एण्ड बेभरेज इण्डष्ट्रिजका सञ्चालक मनोज यादवले आफ्नो उद्योगबाट नमुना लिएर गएको जानकारी दिए ।
बंगलादेशका व्यापारीले भने पाउडर दुध (धुलो दुध)बारे मात्रै चासो दिएका थिए । तर, पाउडर दुधसँगै घिउ पनि लैजान नेपालका उद्योगीले आग्रह गरेका छन् । पाउडर बनाउँदा घिउ पनि सँगै उत्पादन हुन्छ । त्यसका साथै बंगलादेशका व्यापारीले कति निर्यात गर्न सक्ने हो, तथ्याङ्क दिन भनेका छन् ।