
२० फाल्गुन । इलामको चुलाचुली गाउँपालिका वडा न. १ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन भएको छ । सोमबार एक कार्यक्रमका बीच नवनिर्मित सो भवनको गाउँपलिका अध्यक्ष प्रदिपचन्द्र राईले रिवन काटेर उद्घाटन गर्नुभएको हो ।
३३ लाख १८ हजार ६ सय ६५ रुपैयाँको लागतमा एकतले भवन निर्माण भएको हो । तीन कोठे सो पक्की भवन देवीडाँडा निर्माण सेवा प्रा.लि.ले निर्माणको जिम्मा लिइ सम्पन्न गरेको चुलाचुली गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत काजिमान राईले बताउनुभयो । स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवन १ कठ्ठा ४ धुर जग्गा बनेको छ । सो जग्गा स्थानीय हेमन्त चेम्जोङ÷बसन्ती लावती चेम्जोङले आफ्नो आमा बुवा स्व. कर्ण बहादुर चेम्जोङ र स्व. मनमाया फागो चेम्जोङको नाममा दान गर्नुभएको बताईएको छ ।
चुलाचुली गाउँकार्यपालिकाको आयोजनामा गरिएको समुद्घाटन कार्यक्रममा चुलाचुली गाउँपालिका वडा नं. १ का अध्यक्ष पूर्ण लावतीको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय इलामका प्रमु्ख बृज कुमार दास, वडा नं. ३ का वडाध्यक्ष नरेन्द्र लावती, वडा नं. २ का अध्यक्ष रणबहादुर लिम्बु, वडा नं. ५ का अध्यक्ष चन्द्रकुमार थापा, गाउँपालिकाका प्रशासकीय अधिकृत काजिमान राई, गाउँपालिका अध्यक्षका स्वकीय सचिव सञ्जय राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम गाउँपालिकाका शाखा अधिकृत तेजेन्द्र चापागाईले संञ्चालन गर्नुभएको थियो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७