१३ फाल्गुन । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक प्रतियोगिता क्यालेन्डर अनुसार झापा गोल्डकप हुन नसक्दा जिल्लाका खेलप्रेमीहरु चिन्तित बनेका छन् । फागुन १६ देखि हुनुपर्ने गोल्डकपको अहिले सम्म पनि कुनै सुरसार नहुँदा यो बर्ष खेल नै संञ्चालन नहुने होकी भनेर सरोकारवालाहरु चिन्तित बनेका हुन् ।
चौथो संस्करणसम्म आयोजित प्रतियोगिता यो वर्ष हुँदैन कि भन्ने धेरैले लख काट्न थालेका छन । झापा फुटबल क्लबका संरक्षक जलकुमार गुरुङ केही दिनभित्रमा प्रतियोगिताबारे टुंगो लाग्ने बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘एन्फाको क्यालेन्डर अनुसार चाहिँ नहुने पक्का हो । तर प्रतियोगिता नगर्ने भन्ने हैन ।’ प्राविधिक समस्याले प्रतियोगिता समयमा हुन नसकेको सुनाउनुभयो ।
गत २०७२ सालमा झापा गोल्डकप सुरु भएको थियो । पहिलो संस्करणमा त्रिभुवन आर्मी क्लब विजेता बनेको थियो । आयोजक झापालाई हराउँदै आर्मीले ६ लाख पुरस्कार जितेको थियो । दोस्रो संस्करण मनाङले जित्यो । तेस्रो र चौथो संस्करण पुनः आर्मीको पोल्टामा र्पयो ।
तेस्रो संस्करण आइपुग्दा पुरस्कार राशि झन्डै दोब्बर भएको थियो । विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख पाएका थिए । चौथो संस्करणमा विजेता र उपविजेताको राशिमा ५–५ हजार वृद्धि गरिएको थियो । अहिले गोल्डकप अन्योलमा परेपछि झापाली फुटबलप्रेमीहरू चिन्तित छन । ‘झापा गोल्डकप देशकै प्रतिष्ठाको प्रतियोगीता हो,’ झापा फुटबल टिमका पूर्व प्रशिक्षक प्रवेश कटुवाल भन्नुहुन्छ, ‘निरन्तरता दिइनुको विकल्प छैन ।’
जिल्ला फुटबल संघ झापाका अध्यक्ष तथा वरिष्ठ प्रशिक्षक भगिरथ आलेका अनुसार प्रतियोगितालाई एन्फाको क्यालेन्डरमा पार्न आफूले सिफारिस गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘हुँदैन कि भन्ने हल्ला सुन्दैछु, यो महत्त्वपूर्ण प्रतियोगिता हो, निरन्तरता दिइनुपर्छ ।’
यता झापा गोल्डकप आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले प्रतियोगितालाई अझ बढी महत्त्वका साथ गर्ने योजना बनिरहेको बताउनुहुन्छ । ‘प्रतियोगितालाई सार्क राष्ट्रस्तरको बनाउने योजनामा छौं,’ उहाँले भन्नुुभयो, ‘मुलुककै प्रतिष्ठित प्रतियोगिता बनाउने योजना छ ।’ उहाँले कहिलेदेखि प्रतियोगिताले निरन्तरता पाउने भन्नेबारे खुलाउनुभएन ।
झापा गोल्डकपको अन्योल भएसँगै झापा फुटबल क्लबसम्बद्ध खेलाडी र प्रशिक्षक अन्यत्रै आबद्ध हुन थालेका छन । ती खेलाडीहरू विभिन्न ‘ए’ डिभिजन क्लबमा आबद्ध भईसकेका छन । यो समाचार कान्तिपुर दैनिकमा छ ।