
१२ असोज, काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताउनुभएको छ । समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्ने उहाँको भनाइ छ ।
पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई मंगलवार सम्बोधन गर्दै शर्माले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्ने बताउनुभयो । ठूलो धनराशी खर्चिएर चुनाव जित्ने अवस्था ति समुदायको नरहेको उहाँले बताउनुभयो ।
‘समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्छ ।’ उहाँले भन्नुभयो । अर्थमन्त्री समेत रहनुभएका शर्माले पार्टी र जनवर्गीय संगठनहरुका हरेक इकाइलाई उत्पादन इकाइको रुपमा बदल्नुपर्ने बताउनुभयो ।
‘उत्पादनसँग जोडिएको संगठन भएन भने समाजवादमा जान सकिंदैन, हरेक कार्यकर्ता तिनको परिवारलाई आर्थिक रुपले आत्मनिर्भर बनाउनुपर्छ । त्यसो गर्नको लागि संगठनको हरेक इकालाई उत्पादनसँग जोड्नुपर्छ,’ उहाँले भन्नुभयो । पार्टीको नीति निर्माण तहमा दलित समुदायको उचित प्रतिनिधित्वको लागि १५ प्रतिशत आरक्षणको व्यवस्था गरिएको भए पनि त्यसलाई कार्यान्वयन गर्न सेल कमिटी र टोल कमिटीहरुबाटै दलित प्रतिनिधित्व सुनिश्चित गर्दै लैजान उहाँले आग्रह गर्नुभयो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७