
८ असोज, चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले चितवनमा आफू प्रचण्डसँग चुनाव लड्न तयार रहेको बताउनुभएको छ । उहाँले एमाले पार्टीभित्र १० बुँदे कार्यान्वयन हुने अवस्था भए पनि आफू साविककै जिम्मेवारीमा रहने विश्वास व्यक्त गर्नुभयो ।
प्रेस चौतारी नेपाल चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बादलले चितवनमा प्रचण्ड भर्सेज बादलको चुनाव हुने बताउनुभयो । उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समाजवाद र राष्ट्रियताविरोधी भएको आरोप लगाउनुभयो ।
‘राष्ट्रियता, समाजवाद, र समृद्धिको लाइन मैले छाडेको छैन, पुष्पकमल दाहालले छाडेका छन्’, उहाँले भननुभयो, ‘उनी दक्षिणपन्थी विचलनतिर लागे, पार्टीको लाइन छाडेर पलायन भए ।’
बादलले राष्ट्रियतामा नयाँ चूनौतीहरु देखा परेको समेत बताउनुभयो । ‘गृहमन्त्रालयले अस्ति भर्खरै आदेश जारी गर्याे, मित्रराष्ट्रको विरुद्धमा आँच आउने अभिव्यक्ति, विरोधहरु गर्न नपाउने भनेर’, उहाँले भन्नुभयो, ‘लिम्यिाधुराको प्रश्न होस् या एमसीसीका विषयमा विरोध गर्न नपाउनु भनेको उहाँहरुले लिएको राष्ट्रविरोधी लाइन हो । लोकतन्त्रविरोधी लाइन हो ।’
आयस्रोत खुलाउन नपर्ने नीति ल्याएर सरकारले कालोधनलाई संरक्षण गर्न खाजेको आरोप लगाउनुभयो । उहाँले प्रचण्ड विस्तारै एक्लिने दाबी गर्नुभयो । ‘पार्टी फुटाएर जानेहरुले समाजवादको लाइन छाडेका छन् । हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी नै छ’, उहाँले भन्नुभयो, ‘माओवादीभित्र अन्तरविरोध छन्, स्वयम प्रचण्डले आफू एक्लै हुने त होइन भनेर चिन्ता व्यक्त गर्न थालेका छन् ।’


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७