
१७ भाद्र, काठमाण्डौँ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहले पार्टीको आसन्न महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने दावी गरेको छ । काठमाण्डौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो समूहले एक जना उम्मेदवार उठाउने घोषणा गरेको हो ।
एकताको सन्देश दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले काँग्रेसको सुधार चाहने विचार समूहले १४ औँ महाधिवेशनमा एक जना उम्मेदवार उठाउने र यो समूहले महाधिवेशनसम्म एक जना उम्मेदवार तय गर्ने बताउनुभयो ।
पौडेलले सो घोषणा गर्दैगर्दा ‘यसको आधार के छ ?’ भनेर प्रश्न गरिएको थियो । जवाफमा पौडेलले आजको उपस्थिति र अठोट नै यसको आधार भएको बताउनुभयो । ‘देशको वर्तमान व्यवस्था र काँग्रेस सुधार गर्नका लागि हाम्रो विचार समूह नेतृत्व पुग्न अपरिहार्य देखिएको छ’ हाँनले भन्नुभयो, ‘यही निष्कर्षलाई आधार मानेर हामी अघि बढ्छौँ । यही निष्कर्षले हामीलाई एकतामा बाँधी राख्नेछ ।’
आजको पत्रकार सम्मेलनमा यसअघि कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्रीका उम्मेदवार बनेका गगन थापा पनि उपस्थित हुनुभएको थियो । उहाँले हालै मात्र सो पदमा पुनः उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७