गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिकः अथाह घरजग्गा, किलोमा सुनचाँदी

गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिकः अथाह घरजग्गा, किलोमा सुनचाँदी


९ भाद्र, कास्की । गण्डकी प्रदेशका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार गण्डकीका मन्त्रीहरुमध्ये सबैभन्दा धनी आन्तरिक मामिला तथा प्रदेशसभा मन्त्री विन्दुकमार थापा देखिनुभएको छ ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा, भौतिक पूर्वाधार मन्त्री कुमार खड्काको पनि घर जग्गा र सुनचाँदी धेरै देखिएको छ । मन्त्रीहरुले बैंकबाट ऋण लिएको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

आन्तरिक मामिला तथा प्रदेश सभामन्त्री थापाको आफ्नो र श्रीमतीको नाममा विभिन्न मल तथा होटल सहित ६ वटा घर छन् । पोखरा बुटिक होटल, बगैंचा रिसोर्ट, सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर, रोयल हिमालयन रिसोर्टलाई थापाले आफ्नो सम्पत्ति विवरणमा देखाउनुभएको छ । त्यस्तै पोखराका विभिन्न ठाउँमा उहाँ र परिवारको सदस्यको नाममा जग्गा छ ।

पोखरा नयाँ बजार निवासी मन्त्री थापासँग नगद भने ५५ हजार रुपैयाँ मात्र छ । त्यस्तै ९० तोला सुन, ५० तोला चाँदी र १५ तोला हिरा पनि उहाँले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । डेढ दर्जन बैंक तथा वित्तीय संस्थामा थापा र परिवारका सदस्यको नाममा शेयर रहेको छ ।

थापासँग एक करोड २० लाख र १ करोड ५ लाख पर्ने दुईवटा गाडी छन् भने रोलेक्स र कार्टियर घडी ३ थान छ । थापाले विभिन्न बैंकबाट ३० करोड रुपैयाँभन्दा बढी ऋण लिएको पनि सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको नाममा स्याङ्जाको भीरकोट र काठमाडौं नागार्जुनमा घर छ । उहाँ र उहाँको परिवारका सदस्यको नाममा काठमाडौंको ४ ठाउँमा जग्गा छ, स्याङ्जाका भीरकोट नगरपालिकामा २ ठाउँमा जग्गा छ ।

श्रेष्ठसँग १ किलो १९ तोला सुन छ । उहाँले यसलाई पैतृक तथा पेवा सम्पत्ति भन्नुभएको छ । ७ किलो २ तोला चाँदी, एउटा हिराको औंठी र नगद मौज्दात १५ लाख रुपैयाँ सम्पती गरेको श्रेष्ठले सार्वजनिक गर्नुभएको छ । श्रेष्ठ र परिवारको नाममा करिब ७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा बचत रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

मन्त्री श्रेष्ठसँग ८ वटा बैंक तथा वित्तीय संस्थाको शेयर छ भने सिटिजन्स बैंकबाट २ पटकमा गरी ऋण ७ करोड ९० लाख रुपैयाँ ऋण लिईएको बताईएको छ । मन्त्री श्रेष्ठसँग एउटा कार, २ वटा स्कुटर छ भने स्याङ्जाको भीरकोटस्थित सुन्तला बगैंचाबाट प्रति वर्ष ६ लाख रुपैयाँ आम्दानी हुने उल्लेख गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माको बागलुङमा श्रीमतीको नाममा ४८ लाखको घर छ । रुपन्देहीमा ५७ लाख, चितवनमा ६३ लाखको जग्गा रहेको मणिभद्रको बागलुङमा पुख्र्याैली जग्गा छ र त्यस्तै ३ वटा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको उल्लेख गरिएको छ ।
दाइजो र पुर्खाैली सम्पत्तिबाट प्राप्त गरी मणिभद्रसँग २५ तोला सुन र १ किलो चाँदी सम्पत्ति छ । करिब ३ लाख रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा बचत रहेको शर्मासँग ८० लाख रुपैयाँभन्दा बढी रकमको शेयर रहेको छ ।

भैतिक पूर्वाधार मन्त्री कुमार खड्काले स्वआर्जनका रुपमा पोखरा महानगरपालिका–१६ मा घर देखाउनुभएको छ । श्रीमतीलाई माइतबाट प्राप्त बकसका रुपमा प्राप्त जग्गा साटफेर गरी किनेको जग्गा पनि मन्त्री खड्काले सार्वजनिक गर्नुभएको छ । खड्काको विभिन्न बैंक तथा वित्तीय संस्थामा एक करोड ३३ हजार रुपैयाँ बचत छ ।

खड्काले अमरदीप सहकारीमा ५१ लाख ५० हजार रुपैयाँ र जन्मभूमि एजुकेशन फाउण्डेसन प्रालिमा ५ लाख सेयर देखाउनुभएको छ । उहाँले उज्ज्वल खड्कालाई ६० लाख रुपैयाँ र हरिबहादुर थापालाई २५ लाख रुपैयाँ ऋण दिएको विवरण सर्वजनिक गर्नुभएको छ । खड्कासँग श्रीमतीको नाममा ४२ लाखको गाडी छ ।

मुख्यमन्त्रीको सम्पत्ति कति ?
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरमा श्रीमतीको नाममा ५ लाखको जग्गा र १५ लाख लगानी बनेको साढे दुई तले पक्की घर छ । तनहुँको ३ ठाउँमा जग्गा देखाउनुभएका मुख्यमन्त्री पोखरेलले काठमाडौंको साङ्लामा १५ लाख ऋण लिएर जग्गा किनेको उल्लेख गर्नुभएको छ ।

कृषि विकास बैंकबाट २५ लाख रुपैयाँ ऋण लिनुभएका मुख्यमन्त्री पोखरेलसँग ५ तोला सुन छ । एभरेस्ट बैंकमा तलबको रकम ५ लाख रुपैयाँ वचत भएको पनि उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्रीसहित माथि ५ मन्त्री सबै नेपाली कांग्रेसका हुन् । माओवादीबाट अर्थमन्त्री रामजी बरालसहित ४ जना मन्त्री छन् ।

अर्थमन्त्री रामजी बरालसँग पोखरा महानगरपालिका–२२ मा १ रोपनी ४ आना जग्गा छ । उहाँले ४७ लाख रुपैयाँमा अर्काे जग्गा किन्नुभएको छ । अर्थमन्त्री बरालले ३ लाख रुपैयाँ नगद र ४ तोला सुन देखाउनुभएको छ । एभरेस्ट बैंकमा तलबबापतको ३ लाख रुपैयाँ बचत छ ।

अर्थमन्त्री बरालको नेपाल पूर्वाधार विकास बैंकको ६० कित्तासहित विभिन्न कम्पनीमा १ सय कित्ता शेयर लगानी छ । उहाँले एनआइसी एसिया बैंकमार्फत १ करोड रुपैयाँ ऋण लिएको उल्लेख गर्नुभएको छ । बरालका परिवारका नाममा २ मोटरसाइकल, १ स्कुटर र ६० हजार रुपैयाँको गाई छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीसँग लमजुङको दुधपोखरीमा १ लाख ५३ हजार वर्गमिटर जग्गा र त्यहाँ बनेको घर छ । जनयुद्धमा श्रीमान गुमाएकी मधुमायाले शहीद परिवारलाई सरकारले दिएको राहतबापतको रकमबाट चितवनको २ ठाउँ र मकवानपुरको १ ठाउँमा जग्गा किनेको उल्लेख गर्नुभएको छ । अधिकारीसँग ३ तोला सुन, विभिन्न बैंकमा ८ लाख ६० हजार नगद र एउटा स्कुटर रहेको सार्वजनिक विवरणमा उल्लेख छ ।

वन, वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापासँग स्याङ्जा विरुवामा २ वटा घर छ । पैतृक तथा खरीद गरेको उल्लेख गरेका मन्त्री थापाले छोराछोरीको रेमिट्यान्सबाट पोखरा महानगरपालिका–१४ मा ४० लाख रुपैयाँमा जग्गा किनेको बताउनुभएको छ । उहाँसँग ३० तोला सुन र २० तोला चाँदी छ ।

विभिन्न बैंकमा १५ हजार नगद देखाएका थापाले ६१ लाख ५० हजार रुपैयाँ ऋण लिएको उल्लेख गर्नुभएको छ । थापासँग २५ वटा बाख्रा, ७५० बोट सुन्तला, ६ रोपनी जग्गामा छोराले चलाएको नर्सरी रहेको छ ।

जनता समाजवादीका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यको गोरखा पालुङटारमा बुवाको नाममा पुख्र्याैली संयुक्त घर जग्गा छ । श्रीमती गंगा सुनारको नाममा पालुङटारमै ३ लाखको जग्गा छ भने ८ तोला सुन र ५ तोला चाँदी रहेको मन्त्री आचार्यले सार्वजनिक गर्नुभएको छ ।

मन्त्री आचार्यको विभिन्न बैंकमा ५० हजार बचत छ भने कृषि विकास बैंक र प्रभु बैंकबाट ५० लाख ऋण लिनुभएको छ । ऋणबाट फर्निचर उद्योग खोलेको बताउनुभएको आचार्यले २० लाख रुपैयाँ तिरेको उललेख छ ।

मन्त्री भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । मुख्यमन्त्री पोखरेलसहित मन्त्री कुमार खड्का, मधुमाया अधिकारी, हरिशण आचार्य र राजीव गुरुङ –दीपक मनाङे)ले जेठ २९ गते शपथ लिनुभएको थियो ।
युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले म्याद नाघिसक्दा पनि अझै पनि सम्पत्ति विवरण बुझाउनुभएको छैन् । माओवादीका भूमि, व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढाले पनि सम्पत्ति विवरण बुझाउनुभएको छैन ।

प्रतिक्रिया:

सम्बन्धित खवर