४ भाद्र, झापा । झापा बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ युट्युबर र २ टिकटकर पक्राउ परेका छन् । एक पुरुष र २ महिलाले खाजा खाइरहेका बेला भिडियो खिची युट्युब र टिकटकमा अपलोड गरेर चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एकजना रहेका छन् । केही युट्युबर भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उनीहरूले होटलमा प्रवेश गरी खाजा खाइरहेका बेला अनधिकृत रूपमा भिडियो खिचेर युट्युबबाट चरित्र हत्या गरेको उजुरीपछि पक्राउ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालय अनारमनि झापाका प्रमुख डिएसपी सन्तोष आर्चायले जानकारी दिनुभयो ।
उनीहरुमाथि अभद्र व्यवहार गरेको कसुरमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर अनुसन्धानका लागि थुनामा राखिएको डिएसपी आर्चायले जानकारी दिनुभयोे ।
भाद्र १ गते दुई महिला र एक पुरुष होटलमा बसेर खाजा खाइरहेका थिए । उनीहरूले अनैतिक कार्य नगरेको र होटलमा संगै बसेर खाजा खाइरहेको अवस्थामा युट्युबरहरुले विभिन्न प्रश्न गर्दैै भिडियो खिचेर युट्युब र टिकटकमा राखेका थिए ।
सो भिडियोले आफ्नो चरित्र हत्या भएको, गोपनीयताको हनन भएको र समाजमा बेइज्जती गर्ने काम गरेको भन्दै उनीहरूले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । हुँदै नभएको घटनालाई अतिरञ्जित गरेर हाम्रो जीवन वर्वाद गरिदियो भन्दै उजुरी दिन आएको डिएसपी आर्चायले बताउनुभयो ।