
४ भाद्र, काठमाण्डौँ । पार्टी एकताको लागि भन्दै आन्तरिक गृहकार्य गरिरहेका नेकपा (एमाले)का माधव नेपाल समूहमा छाडेका नेताहरुको छुट्टै भेला भएको छ । आज शुक्रवार बसुन्धारास्थित एक पार्टी प्यालेसमा भएको भेलाले पार्टी एकताको लागि अझै पहल गर्ने निश्कर्ष निकालेको हो ।
एकताको लागि यसअघि कार्यदले अघि सारेको १० बुँदे सहमती कार्यान्वयन हुनुपर्ने उनीहरुको निश्कर्ष छ । यसको लागि अध्यक्ष केपी शर्मा ओलीलाई एक साताको समय दिईएको पनि बैठकमा सहभागी एक नेताले बताए । यदि दश बुँदे कार्यान्वयन नगरे विद्रोह गरिने ती नेताहरुको चेतावनी छ ।
नेपाल समूहका साथ छोडेका नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुषाल, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्तले यसअघि संयुक्त विज्ञप्तीजारी गर्दै पार्टी एकताको पक्षमा उभिन आम नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेका थिए ।
ती नेताहरुले पार्टी एकताको लागि अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित १४ जना सांसदलाई गर्ने भनिएको कारबाही फिर्ता लिनुपर्ने र फाल्गुन २८ यता गरिएका सबै निर्णय फिर्ता लिनुपर्ने सर्त राखेका छन् । त्यस्तै, नेता नेपाललाई पनि पार्टी विभाजनमा गएको प्रक्रियाबाट ब्याक हुन अपिल गरिएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७