२७ श्रावण, झापा । यस वर्ष मेची नदीले झापाको सिमावर्ती क्षेत्रमा ११२ नम्बर पिलर बगाएसँगै १८ वटा पिलरमा क्षति पुगेको छ । सशस्त्र प्रहरीका एसपी रमेशकुमार पाण्डेका अनुसार गत वर्ष मझौला र साना गरी १७ वटा र यस वर्ष एउटा मुख्य पिलरमा क्षति पुगेको हो ।
झापा जिल्लाको १४४.२ किलोमिटर खुला सीमा क्षेत्रमा ८२ देखि १५२ नम्बरसम्मको सीमा पिलर रहेका छन् । अधिकांश सीमा पिलर मेची नदी आसपासमा रहेको छ । गत वर्ष भद्रपुर, कचनकवल, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका क्षेत्रका सीमा पिलरमा क्षति भएको थियो ।
मुख्य ७० सहित मझौला र साना गरी कूल ९८८ वटा पिलर छन् । त्यसमध्ये १५० वटा पिलर मेची नदी र अन्य खोला आसपास छन् । तीमधध्ये ३५ वटा पिलर उच्च जोखिममा छन् । यसबर्ष डुबानमा परेका पिलरहरूको अनुगमन हुन सकेको छैन ।
बर्खा सकिएपछि मात्र ती पिलरहरूको अवस्था बुझ्न सकिने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो । सीमाको पिलर हेर्ने जिम्मा सरकारले नापी विभागका उपसचिव शिव लम्साललाई दिएको छ । ‘अघिल्लो वर्ष क्षति भएका पिलरको विवरण प्रशासन कार्यालयले पठाइसकेको छ’– प्रजिअ तिमिल्सिनाले भन्नुभयो ‘यस वर्षको विवरण बर्खा सकिएपछि पठाउने छौँ ।’ त्यसपछि दुवै देशका नापी टोली आएर सीमा पिलरको स्थलगत निरीक्षण गर्नेछन् । ‘दुवै देशका सीमा फिल्ड सर्वे टोलीले जिल्लामा कति वटा पिलर बनाउने हो, कति वटा मर्मत सम्भार गर्ने हो, त्यसको तथ्याङ्क सङ्कलन गर्छ’– प्रजिअ तिमिल्सिनाले भन्नुभयो– ‘त्यसपछि दुवै देशको सहकार्यमा पिलरको काम शुरु हुन्छ ।’ कोभिडका कारण पिलरको काममा ढिलाइ भए पनि आगामी कात्तिक महिनादेखि पिलरको मर्मत सम्भारको काम शुरु हुने उहाँको भनाइ छ ।