
इलाम । श्रमिक अभावले चिया टिप्न समस्या भएपछि चिया किसानले प्रविधिको सहारा लिइरहेका छन् ।
पछिल्लो समय इलामका किसानले चिया टिप्ने श्रमिक नै नपाउने र भेटिएका श्रमिकलाई पनि ज्याला बढी तिर्नुपर्ने भएपछि चिया टिप्ने मेसिन प्रयोगमा ल्याएको बताएका हुन् ।
दैनिक ११ श्रमिकले टिप्ने चिया, एउटा मेसिनले एकै दिनमा टिप्ने गरेकाले मेसिन प्रयोग निकै सस्तो भएको किसानको अनुभव छ । ‘मेसिन प्रयोग गर्दा दुईजनाले काम गर्ने र काम पनि धेरै हुने भएकाले सजिलो हुन थालेको छ,’ सूर्याेदय नगरपालिकाका चिया किसान दिनेश श्रेष्ठले भने, ‘अचेल त चियामा काम गर्ने श्रमिक पाइनै छाडेको छ । श्रमिक नहुँदा चिया हुर्केर नोक्सान हुन थालेपछि मेसिन प्रयोग गरिरहेका छौं ।
त्यसो त, चियाबारीमा मेसिन प्रयोग गर्ने धेरै युवा हुन्छन् । युवाले चिया टिपाइलाई आम्दानीको राम्रो बाटो पनि बनाएका छन् । प्रतिकिलो १५ रुपैयाँले गाउँघरमा चिया टिप्नेगरेको उनीहरू बताउँछन् । मेसिन किनेर चिया टिप्दैआएका माइजोगमाई गाउँपालिका लप्सीबोटेका निर्मल काफ्ले दैनिक अढाई सयदेखि तीन सय किलो हरियो चिया मेसिनले टिप्नेगरेको बताउँछन् ।
आफैं मेसिन चलाएर चिया टिप्ने उनले विदेश जाने तयारी गरिरहेको भएपनि रोजगारीको सम्भावना गाउँमा पनि उत्तिकै रहेको बताए । ‘सबै युवाशक्ति विदेशिएको छ । छरछिमेकमा बालबालिका र बुढापाका मात्रै देखिन्छन् । बारी बाँझो छ, खेती गर्नेमात्र होइन, कृषिउपज टिप्ने र बजार पठाउने जनशक्तिसमेत छैन,’ काफ्लेले भने, ‘गाउँको पीडा हेर्दा देश नछोड्नुुजस्तो लाग्छ । विदेशमा पनि काम नगरी पैसा आउँदैन ।’
त्यहींका तारा काफ्लेले पनि मेसिनको सहायताले चिया टिप्नथालेका छन् । श्रमिक नपाएकै कारणले मेसिन चलाउनुपरेको ताराको भनाइ छ । पहिला–पहिला पेट्रोलले चल्ने मेसिन आएका थिए । अचेल भने ब्याट्रीबाट चल्ने र चार्ज गर्न मिल्ने भएकाले हल्का किसिमका मेसिन प्रयोग गर्न थालिएको प्रयोगकर्ता किसान बताउँछन् ।
पछिल्लो समय स्थानीय सरकारहरूले नै चिया टिप्ने मेसिन अनुदानमा दिन थालेपछि किसानलाई सहज भएको उनीहरूको भनाइ छ । सूर्याेदय नगरपालिका र माइजोगमाई गाउँपालिकाले धेरै किसानलाई लागत साझेदारी गर्दै चिया टिप्ने मेसिन उपलब्ध गराएका छन् ।
चियामा श्रमिक अभाव र खेती–किसानीमा प्रविधिको प्रयोगलाई बढाउन पनि नगरपालिकाले यस्ता प्रविधियुक्त वस्तु किसानलाई उपलब्ध गराउने नीति लिएको सूर्याेदय नगरपालिका प्रमुख रणबहादुर राई बताउँछन् ।
‘कम लागतमा धेरै काम गर्न सकिने एउटा पाटो रह्यो भने अर्काे चाहिँ चियाबारीमा काम गर्ने जनशक्ति नै अभाव छ । टिप्न तयार भएको चियालाई नष्ट हुनबाट बचाउन मेसिनको प्रयोग बाध्यता पनि हो,’ प्रमुख राईले भने ।
तेस्रो मुलुक पठाउने चियाका लागि भने हातैले टिपेको पत्तीलाई उत्तम मानिन्छ । केही उद्योगले अहिलेसम्म हातैले टिपेर गुणस्तरीय चिया तयार गर्ने गरेका छन् । तर, जनशक्ति अभाव भएपछि चिया टिपेकाभन्दा चिया नटिपेका बगान बढी हुनथालेको चिया उद्योगी बताउँछन् ।
‘अहिले चिया टिप्ने सिजन नै हो । धेरै बगानमा चिया हुर्किसक्छ, हातले चिया टिप्नेलाई प्रतिकिलो ४५ रुपैयाँ दिन्छु भन्दा पनि मान्छे पाइँदैन,’ इलामको साखेजुुङस्थित ग्रिनहिल टि चिया उद्योगका सञ्चालक टंक दाहालले भने, ‘अब पालिकाहरूले श्रम दस्ता खडा गरेर रोजगारीको बाटो यहीं देखाउने बेला भएको छ ।’


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७