नेकपामा भईरहेको एक व्यक्ति एक पदको बहस ‘वेतुकको’ र ‘हास्यास्पद’

नेकपामा भईरहेको एक व्यक्ति एक पदको बहस ‘वेतुकको’ र ‘हास्यास्पद’


२६ वैशाख, इलाम ।

नेकपाभित्रको अन्तरकलहले पछिल्लो समयमा विश्वलाई नै संकटमा पारेको कोरोना भाइरसको महामारी र त्यसबाट उत्पन्न समस्यालाई नै ओझेल पारिदिएको छ । पार्टीको एकतालाई कमजोर बनाउने र सरकार नै परिवर्तन गरेर राजनीतिक अस्थिरता निम्त्याउन लागि परेको पार्टीभित्रकै एउटा गुटले अहिले पुरानै मुद्दालाई रंगरोकन गरेर राजनीतिक वृत्तमा उछालिरहेको छ । त्यो हो–‘एक व्यक्ति, एक पद ।’

गत बैशाख २० गते बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पल्ला भारी देखिएसँगै शान्त बनेको नेकपाको आन्तरिक राजनीति स्थायी कमिटीको बैठक बस्न नसकेपछि एकाएक तातेका छ । पार्टीमा व्यक्ति केन्द्रित गुट गर्नु हँुदैन, गुटले पार्टी कमजोर भयो भनेर भन्नेहरु नै खुमलटार, कोटेश्वर, भैसेपाटि लगायतका स्थानमा दिन नबिराई गुट भेला गरिरहेको कुरो झनै उदेक राग्दो छ ।

पार्टी कमिटीमा एक व्यक्ति, एक पद हुनुपर्दछ । पार्टी कमिटीको सन्दर्भमा यो एकदमै राम्रो सवाल हो । तर नेकपाको विधान नै यो भावनाको विरुद्धमा छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरिम विधान–२०७५ को पृष्ठ ४३ धारा ४६(घ) मा भनिएको छ ‘सम्बन्धित प्रदेश कमिटी अन्तर्गत कार्यक्षेत्र भएका केन्द्रीय कमिटीको सदस्य प्रदेश कमिटीमा र सम्बन्धित जिल्ला अन्तर्गत कार्यक्षेत्र भएको प्रदेश कमिटीको सदस्य जिल्ला कमिटीमा पदाधिकारी वा सदस्य रहन सक्नेछन् । कुनैपनि व्यक्ति दुई भन्दा बढी कमिटीमा रहने छैनन् । तर समन्वय कमिटीको हकमा भने यो व्यवस्था आकर्षित हुने छैन ।’

पार्टीको यो विधानमा एक व्यक्ति, एक पद हुनुपर्छ भन्ने आम नेता, कार्यकर्ताको चाहना र भावना हुँदाहुँदै किन यस्तो व्यवस्था गरियो भन्ने जवाफ आज जसले एक व्यक्ति, एक पदको नारा लाउदैछ त्यसले दिनु पर्दैन ?

किनभने यो विधान पार्टी केन्द्रीय कमिटीले अनुमोदन गरेर प्रकाशन पश्चात आम पार्टी पङ्त्तीमाझ सार्वजनिक भएको हो । आफै गलत निर्णय गरेर आज गोहिको आँसु झार्न शरम लाग्नु पर्दैन ? अब एक व्यक्ति, एक पदका सन्दर्भमा विधानमा त्यसबेला भएको कमजोरीलाई महाधिवेशनले सच्याउने छ । विधानमा यस्तो व्यवस्था किन गरियो ? भन्ने झन् रोचक प्रशंग छ । यसको कुनै अर्कै सन्दर्भमा छलफल गरौंला ।

 

“एक व्यक्ति, एक पदको व्याख्या पार्टी अध्यक्ष र प्रधानमन्त्रीमा आकर्षित हुन्न । यदि आकर्षित हुन्छ भने सांसद भएका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, बिष्णु पौडेल, भिम रावल, अष्टलक्ष्मी शाक्य लगायतले पार्टीको पद र सांसदमध्ये एउटा छाड्नुपर्छ भन्यो भने कति हास उठ्दो बहस हुन्छ होला !”

 

तर अब कुरो रह्यो आज्कल खुब बहसको विषय बनेको एक व्यक्ति, एक पदको । यो झनै हास्यास्पद छ, जो पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर बहसमा ल्याइएको छ । केपी शर्मा ओली नेकपाको अध्यक्ष हुनुहुन्छ, पार्टीमा उहाँको अर्काे पद छैन । अनि मानी लिउ एक व्यक्ति, एक पद नै भन्ने कुरा कार्यान्वयन हुने भयो रे एउटा अध्यक्ष पद भनेको केपी शर्मा ओलीले अर्काे कुन पद छाड्नुपर्ने ?
अझ बिषय केन्द्रित भएर भन्दा पार्टी अध्यक्ष र प्रधानमन्त्री दुई मध्ये एउटा पद छाड्नुपर्ने बेतुकको बहस भइरहेको छ ।

यो बहस गर्न लायक सवाल नै होईन । प्रधानमन्त्री पार्टीको पद होइन, पार्टीमार्फत प्राप्त गरेको राजकीय पद हो । दुई नै भएको मान्ने हो भने पनि विरोध गर्नेहरु समेतले बनाएको विधानले रोकेको छैन । तर एक व्यक्ति, एक पदको व्याख्या पार्टी अध्यक्ष र प्रधानमन्त्रीमा आकर्षित हुन्न ।

यदि आकर्षित हुन्छ भने सांसद भएका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, बिष्णु पौडेल, भिम रावल, अष्टलक्ष्मी शाक्य लगायतले पार्टीको पद र सांसदमध्ये एउटा छाड्नुपर्छ भन्यो भने कति हास उठ्दो बहस हुन्छ होला ! ईश्वर पोख्रेल, रामबहादुर थापा ‘बादल’, योगेश भट्टराई, वर्षमान पुन ‘अनन्त’, धनश्याम भुषाल लगायतले पार्टीको पद र मन्त्रीमध्ये एउटा छाड्नुपर्छ भनेर बहस गर्याे भने कस्तो होला ? यो कुरा केन्द्र, प्रदेश हुँदै स्थानीय तहसम्म लागू हुनुपर्छ भन्ने कुतर्क शुरु भयो भने आज केपी शर्मा ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री मध्ये एउटा रोजाउन एक व्यक्ति, एक पदको भजन गाउनेहरु कुन कित्तामा उभिने थिए होला ?

विश्व संकटमा परेको यो बेला सुन्दै लाजमर्दाे बिषय झिकेर पार्टीमा कलह मच्चाउने समय होईन । जनताले राजनीतिक स्थिरता चाहेका छन् । विकास र समृद्धि खोजेका छन् । यस काममा पार्टी र सरकार कतै चुकेको छ भने सकारात्मक ढंगले खबरदारी गर्ने हो । किचलो निकालेर लोक हसाउने होइन । पार्टीभित्रको या राजकीय पद प्राप्त गर्न विधान र संविधानले स्पष्ट व्यवस्था गरेको छ ।

पार्टी अध्यक्ष बन्नको लागि आगामी महाधिवेशनमा र प्रधानमन्त्री बन्नको लागि आउने निर्वाचनमा प्रतिस्पर्धा गरौंला, अहिले होइन । र अन्त्यमा, पार्टीको आन्तरिक जिवनमा एक व्यक्ति, एक पद रकमिटी एकदमै आवश्यक छ, अनिवार्य छ । आगामी महाधिवेशनमा विधान संसोधन गरेर यो व्यवस्था गरौं ।

 

-लेखक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलामका कार्यलय सचिव हुनुहुन्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर